
नायक तथा चलचित्र निर्माता अर्जुन श्रेष्ठ बाँसवारीमा डिर्पाटमेन्टल स्टोर स्थापना गरि संचालनमा व्यस्त रहन थालेका छन् । यस अघि नै उनले चलचित्र भवनको संचालन गर्दै आएका थिए । अर्का नायक धिरेन शाक्य विगत छ वर्ष देखि जस्मिन फिल्म्स् संचालन गरिरहेका छन् । उनले नेपाली चलचित्रको निर्माणका लागि चाहिने सामाग्री बेचविखन र भाडामा दिने कार्य गरिरहेका छन् । नेपाली चलचित्रमा शिथिलता देखिए पछि उनी व्यापार तिर ढल्किएका हुन् । 'कलाकारले व्यवसाय गर्न नहुने भन्ने छैन । चलचित्रसँग सम्वन्धित भएकोले नै यो व्यापार सुरु गरेको हुँ' नायक धिरेन शाक्यले भने । पचास भन्दा बढि चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका नायक धिरेन शाक्य नेपाली चलचित्र परिवृत्तका व्यस्त र लोकपि्रय नायक हुन् । हाल 'क्रोध' र 'पाइला' नामक चलचित्रको शुटिङमा व्यस्त धिरेनले व्यापारमा पनि शिथिलता आएको बताउँछन् । चलचित्र बनिरहेका छैनन्, चलचित्र क्षेत्र भन्दा फरक रुपमा कुनै नयाँ व्यापार गर्ने पनि सोंच बनाईरहेका छन् उनले ।
नेपाली चलचित्र उधोगले स्वर्ण युगको अनुभव संगाली सकेको छ । यसै युगमा थुप्रै नेपाली चलचित्र देखा परे । कलाकारको आगमनमा बाढी नै आएको थियो । अव भने तिनै कलाकर्मी चलचित्र उधोगबाट पलायन बन्न थालिसकेका छन् । कतिले भने बैकल्पिक व्यवसायलाई बाध्यताका रुपमा अंगालेको पाइन्छ । चलचित्र संघका पूर्व अध्यक्ष तथा निर्माता निर्देशक युवराज लामाले पनि अन्तर्राष्ट्रिय बजारमा समेत थाङ्काको व्यापार गर्दै आएका छन् । त्यसो त उनको थाङ्का व्यापार चलचित्रमा पदार्पण हुनु पहिले देखिकै हो । हाल चलचित्रको गति कम देखिन थाले पछि उनी चलचित्र निर्माणमा कम र व्यापारमा बढि सकृय हुन थालेका छन् । 'अन्तर्राष्ट्रिय' बजारलाई लक्षित गरि 'बुद्ध' नामक चलचित्र निर्माणमा जुटेका निर्माता निर्देशक युवराज लामाले थाङ्का व्यापारलाई वैकल्पिक पेशाका रुपमा अंगालेको बताए । हालका चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्मा भने चलचित्र निर्माण तथा निर्देशनको अलावा चलचित्र वितरणको व्यवसायलाई अंगाली रहेका छन् । उनी जस्तै निर्माता तथा नायिका रेखा थापाको श्रीमान् छवि ओझाले पनि चलचित्र वितरणलाई आफ्नो पेशा बनाउदै आएका छन् । जिवनरेखा, मन मुटु मायाको निर्माता मधुसुदन सिलवालले जग्गा खरिद विक्रीको आफ्नो पेशालाई छोड्न सकेका छैनन् । उनका अनुसार चलचित्र निर्माणमा मुलुकमा छाएको अन्यौलताले प्रभाव पारीरहेकोेले पनि पुरानो व्यवसाय त्याग्न नसकेको हो ।
सुपर हिट चलचित्रका नायक लोकेन्द्र कार्की 'राशनको ठेक्का पट्टा'मा नै व्यस्त छन् । लगभग उनी चलचित्र परिवृत्तबाट पलायन झैं देखिएका छन् । नायक रमेश उप्रेती विदेशमा क्युरियोको व्यापारमा रमाईरहेका छन् । त्यसो त नायक गणेश उप्रेती नयाँ बानेश्वरमा बेकरी क्याफे र रेष्टुरेन्ट संचालनमा ब्यस्त बनिरहेका छन् । लगभग नेपाली चलचित्र परिवृत्तबाट पलायन भैं भएकी नायिका मौसमी मल्लले व्युटि पार्लरलाई आफ्नो पेशा बनाएकी छिन् । नायिका अरुणिमा लम्सालकी चरित्र अभिनेत्री आमा भावु लम्सालले पनि व्युटि पार्लरको व्यवसायलाइै अघि बढाई रहेकी छिन् ।
कलाकार पव्लिक फिगर भए पछि स्ट्याण्डर्ड मेन्टेन गर्न निकै गार्हो हुने स्वयं कलाकारहरु बताउँछन् । स्टारडम बनिसकेका कलाकारलाई अझ यो समस्याले पिरोल्ने गरेको छ । आयको बाटो भनेको चलचित्र नै निर्माण र प्रर्दशन हुन छाडे पछि कलाकारले जिविको पार्जनको बाटोको रुपमा बैकल्पिक व्यवसायलाई रोजेको पाइन्छ । तर, मुलुकमा लागेको अन्यौलको कालो बादल हटेर जाने आशामा कलाकर्मी पर्खिरहेका छन् । पुनः नेपालमा शान्ति छाए चलचित्रमा नै आफ्नो कर्मलाई अघि बढाउने सोंच ति कलाकारहरुको छ । डकुमेन्टि्र निर्माण तथा निर्देशनमा व्यस्त कलाकार रमेश अधिकारीले भने 'कलाकारिता नशा जस्तो भइसक्यो, त्यसै छोड्न त कहाँ सकिन्छ र ?' हाल उनी पनि कामका लागि नै कतार मुलुकमा रमाउन त्यस तर्फ हान्निसकेका छन् । तर, नेपाल फर्के पछि पुनः कलाकारितामा नै रमाउने उनले बताए ।
Bisham Thakuri
dearbisham@hotmail.com