
मेरो घर ओखलढुङ्गा पोकली २ मा पर्छ । मेरो जन्म पनि त्यहि वि.सं. २०३८ साल मंसिर २७ गते भएको हो । मलाई राम्रो सम्झना छ कि सात वर्षको उमेरमा मलाई बन झाँक्रीले समातेर लग्यो । सुरुमा म अचेत अवस्थामा थिए । पछि होस आउदा मलाई बन झाँत्रीले पोकली स्थित छाङगा भित्र राखेको रहेछ । मेरो घरमा व्यापक खोजी भयो तर कसैले केही पत्तो लाउन सकेन । त्यतिबेला म मरेको ठानी मेरो घर परिवारले काजक्रिया पनि गरेको रहेछ ।
करिव एक वर्षको अन्तरालमा मलाई बन झात्रिले जहाँबाट लगेको हो त्यहि छोडि दियो । त्यस वीचमा उनले मलाई धामी झाँक्री र तन्त्रमन्त्र सवै सिकायो र आठ वर्षको उमेरमा मैले 'ढोल ढ्याङ्ग्रो' भिरेको हुँ । सोही ताका देखि मैले गाउँमा धामी झाँक्रीको काम सुरु गरे र मानव धर्मको सेवा पनि सुरु गरे ।
यस्तैमा १४ वर्षको उमेरमा काठमाण्डौ आए पछि ड्रग एडिक्टहरुको उपचार, हराएको मान्छेको खोजी एक संस्थामा संलग्न भएर गर्न थाले । एलोपेथी उपचार नभएका रोगहरुको उपचार म धामी झाँक्रीको माध्ययमबाट गर्न थाले र सफल हुदै पनि गए । करिव १६ वर्षको उमेरमा आफैले गौशालामा 'आश्रम नेपाल'को स्थापना गरि मानव धर्मका कार्यहरु गरिरहेको छु । यहाँबाट विभिन्न देशका व्यक्तिहरुलाई धामी झाँक्री सम्वन्धि जानकारी दिने, प्रशिक्षण दिने कार्यहरु पनि गरिरहेको छु । हाल ३५ जना चेलाहरुले अमेरिका, जापान, जर्मन, लण्डन, मलेसिया र नेपालमा संस्था संचालन गरिरहेका छन् ।
मेरा जीवनका अविस्मरणिय क्षणहरुमा डि.आई.जी. हेम गुरुङको भाउजु दुर्गा गुरुङलाई डक्टर अव बच्दैन भनेका थिए । तर, मैले हस्पिटलमा गएर नै उहाँ बचाए । नायक शिव श्रेष्ठका सालालाई पनि काम्ने रोग थियो । उहाँलाई पनि टिचिङ हस्पिटलमा राखिएको रहेछ । उहाँलाई पनि हस्पिटलमा गएर नै उपचार गरि घर फर्काए ।
त्यसो त मैले गरेका धेरै भविष्यबाणी शतप्रतिशत मिलिरहेका छन् । च्यानल नेपालबाट मैले शाही आयोज खारेज हुन्छ भनेर भनेको थिए, यो अहिले सवैलाई थाहा भइसक्यो । त्यस पछि ०६१ सालमा राजाले असोज ६ गते पार्टिविहिन व्यक्तिलाई ल्याएर शासन गर्छ भनेका थिए र तीन वर्ष टिकाउदैन भनेर भविष्यबाणी गरेको थिएँ । ०६२ सालमा हिमालय टाइम्समा अन्तर्वार्ता दिदा खेरि पशुपति शम्सेरको पार्टी फुट्छ र देशमा मन्त्री मण्डल तीन पटकसम्म विस्तार हुन्छ भनेर घोषणा गरेको थिएँ । यी लगायत थुप्रै भविष्यबाणीहरु सहि भएका छन् । मैले च्यानल नेपाल, विभिन्न एफ.एम. रेडियो र पत्रपत्रिकाकाबाट भविष्णबाणी पनि गर्दै आएको छु ।
धामी झाँक्रीको कार्य अलावा समाज सेवामा पनि म संलग्न रहेको छु । मैले मेरो गाउँ पोकलीमा रहेको प्रा.वि.स्कुललाई पुर्न मर्मत गरि निम्न माध्यमिक विद्यालय बनाएको छु । अहिले आफ्नै खर्चमा ४० जना टुहुरा बालबालिकालाई पढाइरहेको छु । म आफ्नो आश्रममा दैनिक विहान ७ देखि बेलुकी ५ बजेसम्म विभिन्न समस्या लिएर आएका व्यक्तिहरुको उपचार गर्दे आएको छु ।
धामी झाँक्री र भविष्यबाणीको माध्ययमबाट समाज सेवा गरेबापत मैले गोरखा दक्षिण बाहु चौथो पनि प्राप्त गरिसकेको छु । साथै 'स्टार द वेष्ट विक' को उपाधीले पनि मैले प्राप्त गरिसकेको छु ।
बास्तवमा मैले धेरै नेपालीहरुले आफ्नो संस्कृति र धर्म कर्ममा आफ्नो मुटु जत्तिकै विश्वास र माया गरेको पाएको छु । तर, कतिपयले आफ्नै भविष्य नदेख्नले अर्काको भविष्य के हेर्ला र ? भनेर कुरा काटेको पनि पाएको छु । पक्का हो कि हलिको आफ्नै जोत्ने खेत हुदैन । तर, बन झाँक्रीबाट ज्ञान पाएको व्यक्तिले आफ्नो लगायत अरुको पनि भविष्य हेर्न सक्छ ।
मलाई मेरो देश र संस्कृति प्रति अत्यधिक माया छ । एक पटक मलाई अमेरिकाको लागि अवसर आएको थियो । भिजा लागेर पनि मलाई अरुका देशमा जाने मनै भएन । म आफ्नै देशमा बसेर मानव धर्ममा लागि पर्न चाहन्छु । सेवा गर्न चाहन्छु । अझै पनि भविष्यबाणी गर्ने र पुजापाठ गर्ने कार्य गरिरहेको छु । असहायका लागि भने निशुल्क सेवा प्रदान गर्दै आएको छु भने आश्रममा आएका प्रति व्यक्तिबाट रुपैया एक सय लिएर ग्रह दशा हेर्ने र भविष्य बाणी गर्ने गरेको छु । र, मेरो यो मानव सेवामा सदा सर्वदा समर्पित रहने सोंच छ ।
-अन्तर्वातामा आधारित