
विषम ठकुरी
मोडलिङको प्रवेश नेपालमा डेढ दशक अघिमात्र भित्रिएको हो । नेपाली सामाजिक परम्परा र पुरातन शैलीसँग जुझदै मोडलिङले आफ्नो शुरुवातका दिन गुजारेको थियो । उदार नरहेको नेपाली संस्कारमा महिलाको देह प्रदर्शनलाई स्वीकार्नु ठूलो चुनौति नै थियो । यद्यपि, मोडलिङले नेपाली परिवेशमा पनि स्थायित्व लिइसकेको छ । तर, व्यवसायिक र लहडमा होमिने परम्परा अनि 'टाइम पास'को संस्कृतिले प्रगति भने उस्तो हुन सकेको छैन ।
नेपाली मोडलिङ परिवेशमा पुराना मोडलहरुको विश्थापित हुने र नयाँको पदार्पण हुने क्रम उत्तिकै छ । अद्यावधि मोडलिङले न त व्यवसायिक रुप लिन सकेको छ, न त आम मानिसका मन जित्न सकेको छ । शिक्षित र सम्भ्रान्त परिवारका मानिसहरु आफना छोरा छोरी मोडलिङ भन्दा करिअर निर्माणमा लागुन् भन्ने चाहना राख्छन् । मोडलिङमा लागेकाहरुलाई पनि परिवारले सर्पोट नगरेका उदाहरण अनगिन्ती छन् ।
मोडलिङ प्रशिक्षण र शो आयोजनाका लागि राजधानीमामात्र ३० वटा भन्दा बढि मोडलिङ एजेन्सी खुलेका छन् । तर, अधिकाशं बन्द भइसकेका छन् भने कतिपयमा जेनतेन चलिरहेको छ । एक दशक अघि देखि मोडलिङको प्रशिक्षण र मोडलमा उत्पादनमा समर्पित बन्दै आएको 'द र्याम्प' मा पनि प्रशिक्षार्थीको कमि हुन थालेको छ । द र्याम्पका म्यानेजिङ डाइरेक्टर मोडल जयन सुव्वा मानन्धर नेपाली समाज मोडलिङ प्रति उदार बन्दै गएको बताउँछिन् । उनका अनुसार नयाँ प्रतिभाहरुको आगमन पनि स्वागत योग्य नै छ तर, पुरुषको तुलनामा महिला बढि छन् । 'महिलाहरुलाई सामाजिक संस्कार अनुरुप विवाह पश्चात खुला वातावरण नहुने भएकाले पनि मोडलहरु पलायन हुनु स्वभाविक हो' प्रवन्ध निर्देशक जयन सुव्वा मानन्धरले भनिन् ।
पुरुष या महिला मोडलहरुका लागि पहिलो आयश्रोत भन्नु नै गीतका म्युजिक भिडियो, विज्ञापन र केही फेशन शो हो । तर, फेशन शोमा पनि सहभागीहरुले टिकट विक्री गर्नु पर्ने, म्युजिक भिडियोमा पनि पारिश्रमिक नदिने र कतिपय नव आगान्तुक मोडलहरुले निशुल्क काम गर्न तयार हुनुले पनि व्यवसायिकता नआएको उनीहरु स्वीकार्छन् । मोडलिङको पर्याय फेशनेवल बन्नुले पनि मोडलहरुलाई असहज बनेको छ । आय कम भए पनि मोडलिङमा फेशनेवल हुनु पर्ने वाध्यताले पनि उत्तिकै जकडेको छ । तर, कोरियोग्राफर तथा पुर्व मोडल सिर्जना सिंह योन्जन, 'र्याम्प' मा मात्र फेशनेवल बन्नु पर्ने बाध्यता भएको बताउँछिन् । 'बाटोमा हिड्दा पनि फेशनेवल बन्नुपर्छ भन्ने केही छैन' योन्जनको भनाई छ ।
थुप्रै म्युजिक भिडियो, टेलिफिल्म हुदै इन्द्रेणि चलचित्रमा सह-नायकको भूमिका निर्वाह गरिसकेका प्रविण खनिया मोडलिङबाट टाढा भइसकेका छन् । उनी पलायन हुनुमा पहिलो कारण व्यवसायिकता नै थियो । हाल उनी विजनेशमा व्यस्त छन् । 'मोडलिङबाट बाँच्न निकै गार्हो देखें र व्यापार तिर लागें, किनकी भविष्यलाई पनि भुल्नु हुदैन भन्ने लाग्यो' उनले बताए । उनीमात्र होइन, मोडलिङ परिवृत्तबाट दिव्य लामा, हेमा कुँवर, सुमि श्रेष्ठ, रविना श्रेष्ठ, प्रवेश श्रेष्ठ, इशा दनाई लगायत थुप्रै यसक्षेत्रबाट पलायन भइसकेका छन् । केही म्युजिक भिडियो र थुप्रै फेशनमा प्रतिभा प्रस्तुत गरिसकेकी रविना श्रेष्ठ र हेमा कुँवरले व्युटिसियन पेशालाई अंगालेका छन् । रविनाले भनिन् 'मोडलिङ रुप र उमेर भएसम्ममात्र हो त्यसैले यसैसँग सम्वन्धि पेशा अंगालेका हो' । रविना जस्तै धेरै मोडलहरु कोही व्युटिसियन र कोही फेशन डिजाईनिङमा पनि रुमल्लिरहेका छन् ।
त्यसो त मोडलिङको परिवेशमा आउनेका लहर पनि उतिकै पाउन सकिन्छ । नेपालमा बाषिर्क रुपमा आयोजना हुदै आएको 'मिस नेपाल, मिस टिन नेपाल, मिस कान्तिपुर, मिस भक्तपुर, मिस ललितपुर लगायत यस्ता कार्यक्रममले नयाँ नयाँ मोडललाई प्रश्रय र आगमन गराई रहेको पाउन सकिन्छ । कोही केही भए पनि सिकिन्छ भन्ने हेतुले आउछन् भने केही व्यक्तित्व विकाशका लागि मोडलिङलाई रोज्छन् । हाल, क्षेत्रिय रुपमा पनि मोडलिङ आफ्नो विस्तार गरिसकेको छ । धरान, विराट नगर, पोखरा लगायत थुप्रै ठाउँहरुमा स्थानियरुपले पनि मोडलिङका गतिविधी संचालन हुदै आएको पाउन सकिन्छ । यद्यपि, महिलालाई भन्दा पुरुषलाई मोडलिङमा कम अवसर हुने भएकाले पनि पुरुष मोडलको आगमन एकदमै न्युन रहेको छ ।