
युवा गायक बसन्त श्रेष्ठ अर्थात '११:३० बसन' नयाँ नाम र नयाँ शैलीका साथमा नेपाली संगीतको परिवृत्तमा देखा परेका छन् । सुरुमा उनी स्याडोज व्याण्डको भोकलिस्टका रुपमा देखा परे । हाल उनी एकल रुपमा लागि परेका छन् । वि.सं. २०५३ साल देखि संगीतमा होमिएका उनले ०६० बाट भने एकल यात्रा थालेका छन । व्याण्डबाट उनले 'सुन हाम्रो आवाज' नामक एल्वम निकालेका थिए । पछिल्लो क्रममा उनी पहिलो डेवुट एल्वम 'इमर्ज'का साथमा देखा परेका छन् ।
कोलगेट जेल व्याण्ड कम्पिटिशनमा उनले उत्कृष्ट गायकको उपाधी पाइसकेका छन् भने काठमाण्डौ, पोखरा, विराटनगर, बुटवल लगायतका स्थानमा कार्यक्रम पनि प्रस्तुत गरिसकेका छन् । चितवनका स्थायि निवासी '११:३० बसन' संगीतमा संघर्षका लागि राजधानि भित्रिएका हुन् । यिनै प्रतिभाशाली गायकसँग गरिएका कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
तपाईको पहिलो एकल एल्वम 'इमर्ज'को प्रतिकृया कस्तो भइरहेछ ?
रेस्पोन्स् एकदमै सकारात्मक पाइरहेको छु । व्याण्डमा छदाका फयानहरुले पनि सर्पोट पाएको छु । यहि पछिल्लो महिनामा भिडियो पनि रिलिज हुन्छ । अझ राम्रो हुने आशा गरिरहेको छु । सुरुमा निकै डर लागेको थियो । त्यो अहिले हटेको छ ।
डराउनु पर्ने त्यस्तो के कारण थियो नि ?
करिअर बनाउन निकै समय लाग्यो । र, यस वीचमा केही ग्याप भएकाले श्रोताले मलाई विस्र्यो कि भन्ने भ्रम मनमा आयो । पछि विर्सेको रहेनछ, अझै पनि माया गरिरहनु भएको रहेछ भन्ने लाग्यो ।
एकल यात्रा प्रारम्भसँगै तपाईले नाम परिवर्तन गर्नु भयो बसन्त श्रेष्ठबाट '११:३० बसन' । यो नयाँ नाम तपाईको लागि कत्तिको लक्कि सावित भयो त ?
यो टाइटल राख्नाले धेरै मान्छेमा जिज्ञासा छाएको छ । मेरा श्रोताहरुले मेल गरिरहनु भएको छ, मिडियाबाट पनि यो जिज्ञासा आइरहेको छ । मलाई यहि जिज्ञासाले माथि उठाउन अझ मदत गर्छ भन्ने लागेको छ । किनकी जुनमा जिज्ञासा हुन्छ त्यो कुरा राम्रो हुन्छ । मलाई पनि प्लस पोइन्ट भएको छ मेरो टाइटल ।
यो नाम परिवर्तन नै किन गर्नु पर्यो नि ?
पहिला व्याण्ड 'स्याडोज'मा गायक थिए । तर मलाई व्याण्डबाट चिनोस भन्ने चाहन्न । एकल करिअर सुरु गरे पछि नयाँ कुराबाट नै सुरु गरौं भन्ने लागेर नाम परिवर्तन गरेको हो ।
स्याडोज व्याण्ड छाडेर एकल करिअर सुरु गर्दा कस्तो अनुभव भइरहेछ त ?
सुरुमा त गार्हो भयो । व्याण्डमा छदा हेमि रक गीतहरु गाउथे भने अहिले म्युजिक प्यार्टन नै चेन्ज भएको छ । श्रोताले अनकम्र्फोटेवल फिल गर्छ कि भन्ने लागेको थियो । तर, पुराना फ्यानका साथै यस एल्वमबाट नयाँ फ्यानहरु पनि बढेको महसुस गरिरहेको छु ।
एक हिसावले तपाई नयाँ प्रतिभा नै हुनुहुन्छ । के कस्ता संघर्षको अनुभव गर्नु पर्यो ?
व्याण्डबाट नै मलाई धेरै श्रोता दर्शकले चिनी सकेका थिए । त्यो कुराले पनि सजिलो भयो । विल्कुल नयाँ कलाकार भएको भए गार्हो हुन्थ्यो होला तर त्यो भएन ।
बास्तवमा व्याण्ड स्याडोजको आफ्नो बेग्लै पहिचान थियो । तर, तपाईले किन व्याण्डबाट अलग्गिनु पर्यो ?
ब्याण्डमा छदै मैले साथीहरुसँग एउटा सोलो एल्वम गर्छु भनेर कुरा राखें । तर, साथीहरुले 'कि त व्याण्ड छोड कि त सोलो एल्वम नगर' भने पछि मैले व्याण्ड छोड्ने निर्णय लिएको हुँ । कम्प्रोमाइज भएर नै व्याण्ड छाडे र व्याण्डले पनि मलाई सर्पोट नै गर्यो ।
तपाई व्याण्डको भोकलिष्ट भएकोले पनि तपाईको चर्चा बढि चल्नु स्वभाविक नै हो । यहि कारणले त हैन असमझदारी उत्पन्न भएको हैन ?
मान्छेले त्यसरी पनि हेर्दा रहेछन् तर ममा म चाँही व्याण्डको भोकलिस्ट हेा र मलाई सवैले सल्युट गर्छ भन्ने भ्रम कहिले पनि आएन ।
व्याण्ड छाडेर एकल रुपमा लागि पर्नेहरु र सफलता हाशिल गर्नेहरु नेपाली संागीतिक परिवृत्तमा धेरै छन् । कतै तपाईमा पनि स्वार्थ भावना त आएन ?
मलाई त्यस्तो नेगेटिभ फिलिङ कहिले पनि आएन । र अरुले सोच्छन् भने गलत हो । मलाई लाग्छ, अहिले दुई वटा म्युजिक ग्रो भएको छ । स्याडोज ब्याण्डले आफ्नै प्रकारको रक संगीत सिर्जना पस्कि रहेको छ र मैले एकल रुपमा लागेर नयाँ र फरक शैलीको सेन्टिमेन्टल गीत संगीत प्रस्तुत गरेको छु ।
यो एल्वममा म्युजिक एरेन्जमेन्ट तथा कम्पिलेशन तपाई आफैले गर्नु भएको रहेछ नि ?
मैले संगीतको औपचारिक प्रशिक्षण लिएको छैन तर अभ्यास गरिरहेको छु ।ममा भएको क्रियशन र फिललाई प्रयोग गरेको मात्र हो ।मैले जे जानेको छु, जे अनुभव गरेको छु र श्रोताले कस्तो प्रकारको गीतसंगीत रुचाउछ् त्यसैलाई प्रयोग गर्ने प्रयत्न गरेको छु ।
एल्वम 'इमर्ज'को विशेषता चाँही के हो ?
पहिलो पटक एकै कलाकारले एउटा एल्वममा सवै गीत 'लाईभ रेकर्ड' गरेको नेपालमा पहिलो यहि इमर्ज हो । यस्मा कुनै प्रकारको किवोर्ड स्याम्पलिङ र सफ्ट वेयर प्रयोग भएको छैन । सवै बाजाहरु एकस्टिक युज भएको छ ।
व्याण्डमा समावेश गरिएको एउटा गीतमा त व्याण्डलाई व्यंग गरिएको रै'छ नि हैन ?
व्याण्डबाट छुटिनु पर्दाको एक फिलिङस हो । यो गीतले सो व्याण्डका सदस्यहरुलाई घोच्न खोजेको हैन । हुन त आशा नगरेको कुराले पनि मान्छेलाई घोच्दो रहेछ । यहि फिललाई इमर्जमा व्यक्त गरेको मात्र हो । यस्ता कुरा अरुलाई पनि पर्न सक्छ भनेर गीतमा दर्शाएको छ ।
अवका योजना के कस्ता रहेका छन् त ?
हरेक एल्वममा केही न केही नयाँ स्वाद पस्कन चाहन्छु र नेपाली संगीतको क्षेत्रमा अथक योगदान गर्ने नै हो ।
कस्को प्रेरणाले संगीतमा होमिन मन लाग्यो ?
बुवा बाबुराम श्रेष्ठको प्रेरणा हौसलाले नै हो म संगीतमा लागेको । बच्चा बेलामा पनि उहाँले काँधमा राखेर स्वर सम्राट नारायण गोपालका गीतहरु सुनाउनु हुन्थ्यो । विस्तारै म पनि स्वर सम्राटको गीतहरु गुनगुनाउन थाले । पारिवारिक जमघटमा पनि बुवाले सवैका सामु गीत गाउन हौस्याउनु हुन्थ्यो । अरुले पनि आत्मसाथ गर्दा आत्मविश्वास बढ्यो ।
तपाई त स्वर सम्राट नारायण गोपालको सेन्टिमेन्टल गीत गाउने मान्छे, फेरी रक व्याण्डमा कसरी सम्मिलित बन्नु भयो नि ?
हो सुरुमा त स्वर सम्राटका गीतहरु गाउथे । पछि वेस्र्टट गीतहरु सुन्न थाले । एरो स्मिथको गायक स्टेभन टायलरलाई म व्यक्तिगत रुपमा गुरु नै मान्थे । उस्को गीत सुने पछि हाई पीचको गीत पनि गाउन सक्छु भन्ने भयो । साथै नेपालीमा यस्ता गीतहरु बनायो भने अन्तर्राष्ट्रिय बजारमा नेपाललाई चिनाउन सकिन्छ भन्ने लाग्यो । त्यहिंबाट रक गायन सुरु भएको थियो ।
नेपाली संगीतको स्कोप कस्तो भइरहेको अनुभव गरिरहनु भएको छ ?
अव विदेशीहरुले पनि नेपाली गीतहरुको फिल गर्न थालेको छ । नेपथ्य, १९७४ एडि समूहका गीतहरु विदेशमा डिमाण्ड भइरहेको छ । यहि अनुरुप नेपाली संगीतकर्मीले पनि निरन्तरता दिएको खण्डमा धेरै राम्रो हुन सक्छ । आर्थिक रुपमा पनि नेपाललाई स्ट्रोङ बनाउन सक्छ ।
फुर्सदका समय कसरी व्यतित हुन्छ नि तपाईको ?
म इन्टरनेटमा मेरो फुर्सदको समय सदुपयोग गर्छु । फ्यानहरुको मेल चेक गर्नु, उहाँहरुलाई रिप्लाई गर्नु यसरी नै वित्छ । अरुबेला भने म्युजिक कम्पोजिशन, संगीतको अध्ययन अनुसन्धान मै व्यस्त हुन्छु ।
कुन कुराले तपाईलाई संगीत सिर्जना र शव्द कोर्न बाध्य बनाउँछ ?
बाटोमा हिड्दा कतिपय नेचुरल कुराले टच गर्यो भने म भावनाहरु केार्छु, यसैलाई गीत पनि बनाउछु । मसँग जहिले पनि डायरी हुने गर्छ । कुनै कुरा मनमा आउना साथ लेखिहाल्छु । त्यहि अनुसार सुहाउदो कम्पोजिशन पनि गर्छु । ओपन स्पेशमा क्रियशन गर्दा अझ राम्रो हुन्छ भन्ने विश्वास छ मलाई ।
संगीतको अलावा तपाईको रुचि के केमा छन् ?
म राम्रो चेस प्लेयर हुँ । पेन्टिङ पनि राम्रो गर्छु । सवैले मलाई राम्रो चित्रकार बन्छ होला भन्थे तर म संगीतमा लागे । तर, अझै पनि पेन्टिङलाई भुलेको छैन ।
प्रेम के हो जस्तो लाग्छ ?
प्रेम चोखो कुरा हो । यसैको कमिले मानिसमा निराशा निम्त्याउन सक्छ । प्रेम कहिले पनि मर्दैन । प्रेममा बाँच्नु पर्छ मानिसले । घृणाले घृणा जन्माउछ तर प्रेमले प्रेम नै जन्माउछ ।
Bisham Thakuri
dearbisham@hotmail.com