
क्षणिक प्रसिद्धिको लोभ र लह लहैमा मोडलिङमा लाग्ने मोडलहरुको भीड बढिनै छन् । तर, नेपाली समाजमा सकारात्मक सन्देश दिन नसकेको क्षेत्र मोडलिङ प्रति उनीहरुका अभिभावक सकारात्मक हुन सकेको छैन । तीव्र सोख र फेशनेवल बन्ने सोचका कारण मोडलिङमा पदार्पण हुनेहरुको बाहुल्यता भएकाले पनि व्यवसायिक बन्न सकेको छैन मोडलिङ परिवृत्त । अभिभावकले व्यवसायिक लाभ भएका क्षेत्रमा मात्र आफ्ना सन्तानले कर्म गरोस् भन्ने चाहना राख्नु अस्वभाविक पनि होइन । त्यसो त नेपालमा मोडलिङको करिअर सुरक्षित नभएको कारण पनि परिवारको रुची मोडलिङमा नगएको हो ।
समय सदुपयोगका साथै केही आम्दानी पनि हुने क्षेत्रमा कार्य गर्न धेरै अनुरोध मोडल शान्ति लामालाई नगरेको होइन उनका परिवारले । तर, केही मानिसले चिनोस र नाम होस भन्ने मोहले आफ्ना अभिभावकको सुझाव पनि शान्तिले स्वीकारिनन् । 'आफ्नो चाहना नै मोडलिङमा छ, तर, व्यवसायिक नभएकाले ड्याडी ममीले दुई चार शो गरेर अन्यत्र काम गर्न सुझाव दिनुहुन्छ, मोडल शान्ति लामाले भनिन् । उनका पीता राजेन्द्र लामाका अनुसार मोडलिङ क्षेत्र रुप र योवन भइन्जेल मात्र हो । स्कोप नै नभएको क्षेत्रमा लाग्नु, समय बर्वाद गर्नु बाहेक केही होइन ।
केही दशक अघिमात्र नेपालमा भित्रिएको मोडलिङ व्यवसाय व्यवसायिक उन्मुख बन्न सकेको छैन । यदाकदा हुने फेशन शो र कन्टेस्टमा पनि नयाँ मोडलहरुले उल्टै शुल्क तिर्नु पर्ने बाध्यता रहेको खुलासा भइसकेको छ । मोडल शान्ति पनि यस कुरामा सहमत छिन् । 'कतिपय शोमा आफैले नै पैसा तिर्नु पर्ने हुन्छ, पारिश्रमिकको कुरा टाढा नै छ'- शान्तिको कथन छ ।
नायिका तथा मोडल कुति भट्टराईकी ममी जया भट्टराईलाई छोरीको चाहना पटक्कै मन परेको थिएन । प्रवेसिका परिक्षा उतिर्ण पछि छोरी कृति फेशनको दुनियामा जाने बताए पछि उहाँले निकै हतोत्साही गर्न खोज्नु भएको थियो । 'बास्तवमा छोरी कृति निकै प्रतिभाशाली भएकाले मोडलिङ र चलचित्र भन्दा पनि उच्च अध्ययन गरोस् भन्ने चाहना मेरो थियो' जया भन्नुहुन्छ ।
विश्वास, उपहार, उनको सम्झना, एक नजर लगायत थुप्रै चलचित्र र विज्ञापनमा अभिनय गरिसकेकी कृति नेपाली रजतपटकी व्यस्त नवनायिका हुन् । 'कृति सानै देखि जिद्धी स्वभावकी थिइन्, त्यही भएर उनको जिद्धिको अगाडि मेरो केही लागेन त्यतिबेला । तर, उनलाई कामको विभिन्न अफर आएको देख्दा भने उनले ठिकै गरिछन् कि भन्ने लाग्न थालेको छ' जयाले भन्नुभयो ।
कतिपय मोडलका अभिभावक घरबाट छोरी निस्किए पछि विग्रन्छे भन्ने मानसिकता बोकेका पनि पाइन्छन् । त्यसो त मोडल छोरा छोरीको फेशनेवल र स्ट्याण्डर्ड मेन्टेन गर्न प्रर्याप्त पैसा खर्च गर्नु् पर्ने भएकाले पनि परिवारले यो पेशा मन पराएको पाइदैन । नेपाली समाजमा अझै अपाच्य रहेको मोडलिङ क्षेत्र भएकाले पनि समाजका अघि आफ्ना छोरा छोरीकाकारण आफुले लाजमर्दो स्थितीबाट गुज्रन नपरोस् भन्ने चाहेर पनि यो पेशा प्रति उदारता देखाउन नसकेको उहाँहरुले बताउनु भएको छ ।
सन् २००३ को मिस नेपाल प्रतियोगितामा सामेल मोडल सुमिका बज्राचार्यको मुमा परमती बज्राचार्य भने केही उदार छिन् मोडलिङ पेशा प्रति । नकारात्मक पक्ष जहाँ पनि हुने तर आफु राम्रो हुनु पर्ने सोच उहाँको छ । घरमानै छोरीलाई सिमित गर्नु भन्दा उनले रुचाएको क्षेत्रमा जान दिनु नै उपयुक्त हुने उहाँको भनाई छ । 'शुरुमा मैले पनि मोडलिङको बारेमा बुझेको थिइन् र अव्जेक्शन पनि गरें तर अहिले ठिकै लाग्छ' परिमती भन्नुहुन्छ 'मेरो छोरी प्रति पुर्ण विश्वास छ । उनी जहाँ गए पनि र जे गरे पनि राम्रो काम नै गर्नेछिन् ।'
मोडलिङ, चलचित्रवृत्त ग्ल्यामर्सको क्षेत्र भएकोले बढि एक्सपोज गर्ने र स्ट्याण्डर्ड मेन्टेन गर्नेहरुनै पेशामा टिकिरहन सक्छन् । सम्पन्न बर्गमा मात्र यो सम्भव भएकाले पनि मध्यम बर्गिय परिवारका लागि त मोडलिङ टाउको दुखाई कै विषय बनिदिन्छ । त्यसो त मोडलिङ परिवृत्तमा रहेर थुप्रै सफलता प्राप्त गर्नेहरु पनि यहाँ नभएका होइनन् । मुलुकलाई समेत केही योगदान दिन सकिने जिकिर गर्छन् कतिपय मोडलहरु । मोडलिङलाई समाजले सहर्ष सम्मान दिन नसकिरहेको बर्तमान परिप्रेक्ष्यमा आफ्नै अभिभावकले पनि तिरस्कार गरिदिदा भने व्यवसायिक विकाशमा अवरोध आउने बताउँछन् उनीहरु ।
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment