
विषम ठकुरी
फरक शैली र प्रस्तुतीका कारण पप पुस्ताविच निकै लोकप्रीय छन् गायक दिपक बज्राचार्य । पप संगीतमा रमाएका दिपक केही वर्ष देखि भने चलचित्रको पाश्र्व गायनमा पनि रम्न थालेका छन् । सम्भुजित बास्कोटाको संगीत रहेको चलचित्र 'बेइमानी' मा दिपकले गायिका नलिना चित्रकारसँग युगल गीत गाएका छन् । 'सिरुपाते...बोलको गीत श्रोताले निकै रुचाए । सफलताको लेवल लागेको चलचित्र 'दुःख' मा उनले पाश्र्व स्वर दिएका छन् । हासौं खेलौ...बोलको गीत श्रोताको रोजई बन्न सफल भयो । यद्यपि उनलाई पाश्र्व गायनमा उस्तो मोह छैन । चलचित्रमा गीत गाउदा कृतिमता अनुभव गर्छन् उनी ।
पप संगीत प्रति अधिकांश संगीतकर्मीको नकारात्मक धारणा अधावधि पाउन सकिन्छ । चलचित्रका पाश्र्व गायनमा हम्मेसी पप गायक गायिकालाई अवसर दिदैनन् । तर, संगीतकार सम्भुजित बास्कोटा अपवाद भित्र पर्छन् । ०४१ सालमा निर्माण भएको चलचित्र 'के घर के डेरा'मा पप गायक ओम विक्रम विस्टलाई गीत गाउने अवसर दिएका थिए, उनै गोल्डेन टच संगीतकार सम्भुजित बास्कोटाले । 'को हो त्यो...'बोलको उक्त गीत पनि निकै चर्चित बन्न सफल भएको थियो । संगीतकार बास्कोटाले सन्जय श्रेष्ठ, नवीन भट्टराई, दिपक बज्रचार्य, सचिन रौनियार, प्रमोद उपाध्याय, मोहन भुसाल, सरिस्मा अमात्य र नलिना चित्रकारलाई आफ्ना थुप्रै चलचित्रमा समेटेका छन् । 'संगीतका आ-आफ्नै स्टायल हुन्छ । पप या आधुनिक या लोक जे जस्तो संगीत भएपनि गीतलाई न्याय दिन सक्छ भने अवसर दिनु पर्छ' संगीतकार बास्कोटा भन्छन् । पप गायक गायिकाको अलगपनालाई 'क्यास' गर्न सक्नु पनि संगीतकारको खुवि भएको जिकिर ब्यक्त गर्छन् उनी । संगीतकार बास्कोटा भन्छन् 'नयाँ प्रतिभालाई खोज्नु र प्रयोग गर्नु पर्छ ।'
कतिपय चर्चित गायक गायिका चलचित्रका निर्माता र निर्देशकका कमजोर आँकलन र सोचले चलचित्रमा अवसर नपाउने गरेका बताउँछन् । तर, गायक नवीन भट्टराई केही फरक देखिएका छन् । उनले पहिलो पटक 'माटो बोल्छ' चलचित्रको पाश्र्व गीतमा आवाज दिएका थिए । उनको आवाज रहेको 'हत्तेरी' चलचित्रको 'बेला बज्यो' बोलको गीतले उनलाई फरक मोड दियो । यद्यपि उनले त्यो मोडमा हिड्न चाहेनन् । 'चलचित्रमा कि्रयटिभीटी नहुने भएकाले चलचित्रमा गाउने मोह रहेन । अफर नआएका पनि होइनन् तर पप संगीतमै म सन्तुष्ट छु' -गायक नवीनले भने । उनलाई आफ्नो मौलिक संगीतमा जे गर्न पनि स्वतन्त्रता हुने भएकोले काम गर्न पनि सजिलो हुने बताए । त्यसो त व्यवसायिक फाइदा पनि पप संगीत मै देख्छन् उनी ।
चलचित्रमा बाँधिएर गाउनु पर्ने तर पपमा आप\mनै शैली र फिलिङ्समा गाउन सकिने हुँदा पप संगीत नै रमाइलो लाग्छ गायक सञ्जय श्रेष्ठलाई । 'सजाय, 'दोमन' नामक चलचित्रका पाश्र्व गीत गाएका सञ्जय पहिलो पप गायक तथा संगीतकार हुन् जस्ले पहिलो पटक नेपाली चलचित्रमा संगीत निर्देशन गरेका छन् । ४० भन्दा बढि चलचित्रको पृष्ठभुमि संगीत र स्कोरिङ गरिसकेका सञ्जयले युवराज लामाको चलचित्र 'धर्मात्मा' मा संगीत दिएका छन् । उनले संगीतबद्ध गरेका अन्य चलचित्रहरुमा 'गाउँ शहर' 'कर्म योद्धा' रहेका छन् । यद्यपि उनी चलचित्रको भन्दा पप संगीतको बजार विस्तृत देख्छन् । चलचित्रका गीत राम्रा नभएपनि पप संगीतलाई तल्लोस्तरको संगीतको रुपमा हेर्ने मानसिकता अझै पनि भएको उनले बताए । आफुले संगीत गरेका चलचित्रमा उनले पप प्यार्टनका गीत संगीतलाई यथेस्ट प्रयोग गरेका छन् । 'पुराना संगीतकारले नयाँ ट्रेण्ड दिन सकेका छैनन् । त्यही भएर नयाँ स्वाद र नेपाली चलचित्रका संगीतलाई नै नयाँ ट्रेण्ड दिनु पर्ने जरुरी ठानेर केही नयाँ प्रयोग गर्ने प्रयाश गरेको छु' उनको अभिव्यक्ति छ ।
पहिले चलचित्रका संगीतकारहरु पप गायक गायिकालाई हम्मेसी आफ्नो चलचित्रको पाश्र्व गायनमा त्यति अवसर प्रदान गर्दैनन् थिए । तर, हाल आएर पप गायक गायिकाहरु पनि निकै प्रतिभाशाली कलाकार देखा पर्न थालेको महशुस गरि साना तिना मौका दिन थालेका छन् । परिचित गायिका नलिना चित्रकारले दाग, माटो बोल्छ, आतंकवादी, बेइमानी, अनमोल, प्रेमयुद्ध, पूणिर्मा जस्ता केही चलचित्रमा स्वर दिएकी छिन् । पप टाइपको संगीत भएमात्र पप गायक गायिकालाई सम्झने प्रवृत्ति उनलाई मन पर्दैन । 'गायकगायिकाले सवै प्रकारका गीत गाउन सक्छन् र अवसर पनि सोही अनुरुप दिनु पर्छ' -गायिका नलिनाले भनिन् । विशेषतः चलचित्र गायनलाई नेपालमा व्यवसायिक स्तायित्वका लागि निकै महत्व मानिन्छ । तर, गायिका नलिना आक्कल झुक्कल गाउने भएकाले खासै व्यवसाय पनि नहुने बताउँछिन् । 'चलचित्रमा गाउदा मात्र राम्रो गायक गायिका कहलाउने भन्ने सोच नै गलत हो । चलचित्रमा नगाए पनि हामी पप गायक गायिकालाई असर भने पर्दैन' -उनले भनिन् ।
अधिकांश पप गायक गायिकाले पाश्र्व गायनमा निरन्तरता दिएको भने पाइदैन । गायिका शरिस्मा अमात्यले नायक, चौतारी, सिउदोको सिन्दुर र दिदि बहिनी लगायतका चलचित्रमा स्वर दिएकी छिन् । चलचित्रको पाश्र्व गायनमा पर्याप्त अभ्यास गर्ने समय नहुँदा भने फिलिङ्स नपुगेको अनुभव उनले बताएकी छिन् ।
नेपाली सांगीतिक क्षेत्रको व्यवसायिक सवालमा नेपाली चलचित्रलाई मूख्य आधार मान्नै पर्छ । अफर आएमा चलचित्रमा गीत गाउँछु भन्नेहरुले पाश्र्व गायनमा रुची छैन भन्नुमा कुनै तुक छैन । गायक गायिका कुनै पनि विधा वा शैलीमा मात्र सिमीत हुनुहुन्न । कुनै पनि गीतसंगीतलाई आत्मसात गर्नु उनीहरुको कार्य दक्षता मानिन्छ । यद्यपि अवसरको कुरा त छदैछ । पप शैलीका थुप्रै गायक गायिकाले चलचित्रमा स्वर दिइसकेका छन् । मंगोलियन हर्टका राजु लामा, मोहन भुसाल, सुगम पोखरेल, सपना थापा, कर्णदाश आदिले थोरबहुत चलचित्रमा आवाज दिएका छन् ।
पप संगीतबाट नै सांगीतिक करिअर शुरुवात गरेका कतिपय गायक गायिका भने चलचित्र गायनमा नै स्थापीत बन्न सफल पनि नभएका भने होइनन् । रीमा गुरुङ, सुक्मित गुरुङ, सत्यकला राई, विमला राई, सत्यराज आचार्य, उद्धव केसी, प्रवेशमान शाक्य, स्वरुप राज आचार्यले चलचित्र गायनलाई आफ्नो पेशा बनाएका छन् । दर्शक तथा श्रोता फरक शैली र स्वादका गीतसंगीतको अपेक्षा गर्छन् भन्ने मान्यता बाट पनि चलचित्रकर्मी बेखवर हुनु अव पक्कै राम्रो होइन । समय सापेक्ष पप गायक गायिकालाई पनि यथासम्भव समेट्नु पर्ने कुरामा औल्याउँछन् कतिपय संगीत विश्लेषकहरु ।
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment