
सार्क राष्ट्रको समन्वय, सद्भाव भौगोलिक परिवेश र राजनीतिक परिवृत्तमा मात्र नभई सांस्कृतिक पक्षमा पनि उत्तिकै रहेको छ । उस्तै सांस्कृतिक परिवेश पाउन सकिन्छ, सार्क मुलुकमा । आधुनिकताको प्रवेशक्रमसँगै यी मुलुकमा ग्ल्यामर्सका विविध पक्षहरु पनि देखा परेका हुन् । चलचित्र निर्माण तथा प्रदर्शन सबै मुलुकमा एकैप्रकारका 'ट्रेण्ड' पाउनु यसको बलियो उदाहरण हो । चलचित्रमात्र होइन, ग्ल्यामर्सका अन्य विधा मोडलिङ, 'फेशन शो'मा नेपाललगायत अन्य हिन्दू र बौद्ध तथा मुसलमान धर्मावलम्बी राष्ट्रहरु पनि उदार बन्न थालिसकेका छन् ।
नेपाली परिवेशमा फेशनको दुनियाँले प्रवेश पाएको धेरै भएको छैन । जानकारहरुका अनुसार ०५० सालबाटमात्र व्यापक र व्यावसायिक रुपमा फेशनको प्रवेश भएको हो । थुप्रै व्यावसायिक मोडलहरु देखापरिसकेका छन् । यदाकदा हुने साधारण फेशन शो र मोडलिङ कन्टेस्टका अलावा मिस नेपाल प्रतियोगिताको सञ्चालनसँगै विश्वस्तरको प्रतियोगितामा पनि नेपाल बेलाबखत सहभागिता जनाउँदै आएको छ । मिस नेपाल, मिसेज नेपाल, मिस टिन नेपाल, लिटिल लेडी क्विनदेखि मिस युनिभर्सिटी नेपालसमेतको आयोजना हुनु अब नौलो रहेन । सन् १९९४ बाट मिस नेपालको प्रतियोगिता सञ्चालन प्रारम्भ भए पनि सन् १९९७ बाट मात्र मिस वल्र्डमा नेपालले सहभागिता जनाउन थालेको हो । साथै, मिस युनिभर्स र एसिया प्यासिकमा समेत नेपाली मोडलहरुले सहभागिता जनाउदै आएका छन् । चार र्षअघि नेपाली चेली आयूषा श्रेष्ठले मिस वल्र्ड युनिभर्सिटीको उपाधि प्राप्त गरेर अन्तर्राष्ट्रिय ख्याति कमाइसकेकी छिन् ।
ग्ल्यामर्सको दुनियाँमा सार्क राष्ट्रमा सबैभन्दा अघि भारत रहेको छ । विगत दश वर्षको इतिहासमा चारपटक विश्वसुन्दरी बनाउन सफल भइसकेको छ, भारत । ऐश्वर्या राय, सुस्मिता सेन, दिया मिर्जा, लारा दत्तालगायत थुप्रै भारतीय सुन्दरीले अन्तर्राष्ट्रिय ख्याति कमाइसकेका छन् । निकै ठूलो बजेट खर्चिएर भारतमा पनि विश्वसुन्दरीको आयोजना भइसकेको छ ।
मुस्लिम राष्ट्र पाकिस्तान, बंगलादेश र माल्दिभ्समा पनि आधुनिकता सँगै 'फेशन शो'ले प्रवेश पाइसकेको छ । धर्ममा कट्टर यी राष्ट्रमा महिलाहरु विशेषतः बुर्काभित्र नै सीमित रहेका पाइन्छन् । अब यो क्रम केही भए पनि रोकिइसकेको छ ।
सन् २००२ को मिस वल्र्ड प्रतियोगितामा मुस्लिम राष्ट्र माल्दिभ्समा 'वीच वेयर कम्पिटिसन'को आयोजना भएको थियो । बौद्ध धर्मावलम्बी रहेको श्रीलंका र भुटान पनि पछिल्लो क्रममा फेशनको दुनियाँबाट अलग हुन सकेन । केही वर्षअघि मात्र भुटानमा टेलिभिजनले प्रवेश पाएको थियो । आफ्नै भेषभूषालाई समयानुकूल फेशनका रुपमा भुटानलगायतका केही राष्ट्रले लिएका पाइन्छन् । अझै पनि खुला देह प्रदर्शनमा पाकिस्तान, माल्दिभ्स या बंगलादेशमात्र होइन, सार्क राष्ट्र नै उदार हुन सकेका छैनन् । तर, भारत पछिल्लो क्रममा धेरै खुकुलो बन्दै आएको छ । यसैको पदचापको अनुशरणमा रमाइरहेको छ, नेपाली परिवेश पनि । यद्यपि सूचना क्रान्ति र आधुनिकताको परिवेशमा फेशनको लहरले सार्क राष्ट्र भने अछूतो रहन नसक्नेमा दुईमत छैन ।
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment