
मोडल, एंकर वा नायिका । ऋचा घिमिरेको परिचय यतिमामात्र सिमित छैन । मोडलिङमा पदार्पणसँगै टेलिभिजनमा प्रवेश गरिन् उनले । यहिंबाट नै उनको ग्ल्यामर्सको करिअर सुरुवात भयो । थुप्रै फेशन शोमा सहभागिता जनाएकी छिन् ऋचाले । 'ग्ल्यामर्सको सुरुवात भने मोडलिङबाटनै गरेकी हुँ' ऋचाले भनिन् ।
दियो सावुन र सि पाइरेट हि्वस्कीको पेपर विज्ञापनमा देखिइन् उनी । ग्ल्यामर्सको क्षेत्रमा उनको मोह बढ्दै गयो । बेस्ट फिगर, मिस पर्सन्यालिटी जस्ता उपाधि हासिलसँगै चन्द परिवारले उनलाई टेलिभिजन कार्यक्रम 'कलेक्शन'का लागि अफर गरे । 'कलेक्शन' टेलिभिजन कार्यक्रममा आएको अफरलाई पनि उनले नकार्न सकिनन् । एकसय ८३ भाग सफलता साथ चलेको कार्यक्रम कलेक्शन नै उनको प्रगतिको पहिलो खुड्किलो बन्यो । 'चन्द परिवारको कलेक्शन कार्यक्रमले नै मलाई आम दर्शकमा चिनायो' ऋचा भन्छिन् । तर, मोडलिङ, एंकरिङ भन्दा पनि उनको मोह चलचित्रमा थियो । नवनायिका ऋचा घिमिरेको सपना यतिखेर साकार हुने क्रममा नै रहेको छ । स्थापित नायिकाको दाँजोमा उनी बढिनै व्यस्त छिन् यतिखेर ।
उनी ग्ल्यामर्स देखिन चाहन्छिन् । कसैले उनलाई 'सेक्सी ऋचा' भने उनलाई रमाइलै लाग्छ । ग्ल्यामर्सको फाँटमा सेक्सी हुनु नौलो होइन उनको लागि । छोटा पहिरन र देह प्रदर्शनमात्र ग्ल्यामर्स नभएको उनको धारणा छ । खुला देह प्रदर्शन ग्ल्यामर्स नभई भल्गरमात्र भएको उनले बताईन् । उनलाई त सारी नै सेक्सी पहिरन लाग्छ । 'सारी एकदमै सेक्सी ड्रेस हो, सारी लगाउदा ढाँढ देखिएको हुन्छ, पेट देखिएको हुन्छ । स्कर्टको कुरा त अव पुरानो भइसक्यो । होइन र ?' उनले प्रतिप्रश्न गरिन् । त्यसो त उनको टेलिकार्यक्रम सञ्चालन गर्दा होस वा चलचित्रमा, सवैले उनको शरिर र आवाजको प्रंशसा गरेकै हुन्छ । उनको शरीरिक आकर्षणमा लोभिने धेरै नै छन् यूवाहरु ।
'तिम्रो माया ९९ मेरो माया सय' उनको पहिलो सेलुलोइड चलचित्र हो । 'राजेश हमालको अपोजिट भूमिकामा अफर आए पछि सो चलचित्रमा काम गरेकी हुँ' ऋचाले भनिन् । चलचित्रले खासै व्यवसायिक सफलता हात नपारे पनि उनको चर्चा भने पक्कै भयो । त्यसो त 'अनि मुटु दुख्छ' र 'राउटे' चलचित्रमा अनुबन्धित भए पनि ती चलचित्र बनेनन् । बरु 'दुई दिनको जिन्दगानी' टेलिसिरियलले उनलाई चर्चित बनायो । 'क्रिशाला'को भूमिका निर्वाह गरेकी ऋचालाई अझै पनि दर्शकहरु त्यही रुपमा उनलाई सम्झन्छन् । 'पुस्पाञ्जली' र 'कसलाई आफ्नो भनुँ' नामक दुई टेलिसिरियल बाट पनि उनले यथेष्ट प्रशंसा बटुलिन् । हाल ऋचा निकै व्यस्त छिन् । दैनिक १५ घण्टा समय व्यस्त रहेको बताउँछिन् उनी । 'अहिले टेलिसिरियल नै आम दर्शकको रुची भएको छ । कलाकारलाई पनि रोजगार मिलेको छ, फिचर फिल्म हेर्न दर्शकहरु हलसम्म जाने वातावरण नभए पछि टेलिसिरियलले दर्शकको मन तानेको हो' उनले भनिन् ।
बलिउडको चलचित्र 'लभ इन नेपाल'मा पनि उनले सानो तिनो भूमिका निर्वाह गरेकी छिन् । नेपालमा पनि प्रदर्शन भइसकेको चलचित्र 'लभ इन नेपाल'बाट पनि उनी निकै हषिर्त छिन् । अनुभवका लागि बलिउडको चलचित्रमा काम गरेको उनले बताईन् । उनको भनाई छ 'बलिउडको चलचित्र निर्माण प्रविधी नेपालकोसँग तुलना नहुने गरि फरक छ ।' त्यसो त उनले पनि अफर आए बलिउडको चलचित्रमा काम गर्ने आशय व्यक्त गरिन् ।
देशको विग्रदो स्थितीका कारण प्रयाप्त चलचित्र बनेका छैनन् नेपालमा । शान्ति बहाली पहिलो सर्त हो नेपाली चलचित्र उधोग पुनः उर्वर बन्नका लागि । तर, शान्ति सुरक्षासँगै नेपाली दर्शकलाई आकर्षण गर्न सक्ने चलचित्र निर्माण हुनु पर्ने यथार्थ उनले पनि बुझेकी छिन् । नेपाली सामाजिक परिवेशका कथावस्तुको प्रर्याप्त सदुपयोग हुन नसकेको उनको कथन छ । 'नारीले दुःख पाएको घटनामात्र सामाजिक कथावस्तु होइन, शहरी परिवेशमा पनि नारी संवेदनाका घटनाहरु प्रसस्त पाउन सकिन्छ' ऋचाले भनिन् ।
उनी अव चलचित्र क्षेत्रमा नै लागि पर्ने सोच अनुरुप अघि बढिरहेकी छिन् । निरन्तरता हर दिनरात प्रयाशरत छिन् उनी । व्यवसायिक कलाकार बन्ने उनको सपना छ । लक्ष्य पनि सफल नायिका बन्नु नै हो । 'चलचित्रकर्ममा नै केही गर्न चाहन्छु, मिडिया पनि मेरो रुचीको विषय हो' उनले बताईन् । उनमा निकै आत्मविश्वास पाउन सकिन्छ । प्रतिभा नभएको भने पक्कै होइन । मिडियामा पनि स्थापित भएका कारण उनीसँग मानिसहरु हम्मेसी नकारात्मक कुरा राख्न सक्दैनन् । 'मिडिया पर्सन्यालिटी भएर पनि होला, नवप्रतिभा भए पनि कसैबाट शारीरिक वा मानसिक सम्झौताको प्रस्ताव आएन' उनले स्पष्ट भनिन् । चलचित्रमा आउनु अघि उनले धेरै सुनेकी थिइन्, पढेकी थिइन्, देह शोषण र मानसिक शोषणका बारेमा । यहि भएर पनि उनका अविभावकको 'साथ' पटक्कै थिएन ऋचालाई । तर उनले मनाई छाडेकी छिन् । 'आफु राम्रो हुन सके सवै राम्रो हुन्छ । 'शारीरिक सम्झौता वा मानसिक सम्झौता आफैमा भर पर्ने कुरा हो, मैले प्रत्यक्ष देखेकी छैन र भोग्नु पनि परेन' ऋचाले भनिन् ।
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment